यस्तो छन एभोकाडो खानुका फाइदा हृदयाघात,मधुमेह जस्ता रोगको निदान ।

एभोकाडो’ फल नेपालीमा ‘घिउफल’ का नामले समेत चिनिन्छ । यो फल झलक्क हेर्दा आँप वा नासपाती आकारको देखिन्छ । यो फल गोलो र लाम्चो आकारको हुन्छ ।

यसको बोक्रा, गुदी र त्यसभन्दा भित्र गोलो आकारको बियाँ हुन्छ । बोक्रा र बियाँको बीचमा रहेको गुदी खाइन्छ । यो फलको स्वाद नौनी घिउ {मोही पारेर निकालेलगत्तैको नखारेको घिउ} जस्तै हुन्छ । एक हिसाबले भन्ने हो भने यो स्वादहीनजस्तै हुन्छ । तर, खान बानी परेका व्यक्तिलाई भने मिठो लाग्छ ।

यो फलको उत्पत्ति मेक्सिकोबाट भएको मानिए पनि आजकल संसारका विभिन्न मुलुकमा यसको उत्पादन हुन थालेको छ । नेपालमा पनि यो फलको उत्पादन हुन्छ । विशेषगरी काठमाडौंलगायतका पहाडी भूभागमा यसको उत्पादन हुने गरेको पाइन्छ । नेपालको सन्दर्भमा यो फल सामान्यतः कात्तिकदेखि पुस महिनासम्ममा पाक्छ ।

स्वाद लिने विधिस् यो फल खाने विभिन्न तरिका छन् । यसको फललाई सिधै ताछेर पनि खान सकिन्छ । फललाई घिउ बटर का रुपमा पाउरोटी वा रोटीमा दलेर पनि खान सकिन्छ । सलाद तथा जुस बनाएर वा मसिना टुक्रा बनाई दहीमा फिटेर पनि यसको स्वाद लिन सकिन्छ । मसिना टुक्रा बनाई अनारमा मिसेर हल्का नुन हालेर समेत यसको स्वाद लिन सकिन्छ ।

प्रचुर पोषण तत्त्वस् खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको तथ्याङ्कअनुसार एभोकाडोमा पानीको मात्रा करिव ७३ प्रतिशत, प्रोटिन दुई प्रतिशत, कार्बोहाइड्रेड एक प्रतिशत र खनिज एक प्रतिशत पाइन्छ । यसमा करिव २३ प्रतिशत फ्याट चिल्लो पदार्थ पाइन्छ । एभोकाडोमा प्रचूर मात्रामा चिल्लो पदार्थ पाइने भएकाले नै यो ‘घिउ फल’ का रुपमा समेत चिनिएको हो ।

यसमा ‘क्याल्सियम,’ ‘फस्फोरस’, आइरन’, ‘पोटासियम’, ‘सोडियम’ जस्ता शरीरलाई आवश्यक खनिज तत्त्व पाइन्छ । सामान्यतः एक सय ग्राम एभोकाडो फलमा ९ सय ७५ मिलिग्राम पोटासियमको मात्रा हुन्छ, जुन शरीरलाई अत्यावश्यक तत्त्व हो ।

यसमा सूक्ष्म किसिमका विभिन्न पोषण तत्त्व समेत पाइन्छन्, जुन तत्त्व शारीरिक तथा मानसिक स्वास्थ्यका लागि अत्यावश्यक हुन्छन् । प्रसिद्ध फुड राइटर {खाद्यसम्बन्धी लेखक} ‘गेलर्ड हाउजर’ का अनुसार एक दाना एभोकाडो खानाले मासुमा पाइने प्रोटिन, बटरमा पाइने फ्याट, हरिया सागसब्जीमा पाइने भिटामिन तथा खनिज, नट्स {ओखर, बदाम, काजु}मा पाइने पोषण तत्त्वका साथै छ पटक खाइने खाना बराबरको शक्ति पाइन्छ ।

शरीरमा ऊर्जास् सन्तुलितरुपमा यो फल खानाले बोसोको मात्रा वृद्धि हुनबाट बचाई शरीरको तौल सन्तुलित रहन सहयोग गर्छ । शरीरमा बोसोको मात्रा कम हुने भएकाले हृदयाघातबाट बच्न समेत यो फल खानु लाभदायक हुन्छ । मधुमेहको नियन्त्रणका लागि पनि यो फल उपयोगी छ । यसमा भएको चिल्लोपनले शरीरमा ऊर्जा दिने भएकाले व्यक्तिलाई आनन्द महशुस हुन्छ ।

यसमा प्रचूर मात्रामा पोटासियम पाइने भएकाले यसले रक्तचाप सन्तुलित पार्न पनि सहयोग गर्छ । यसको सेवनबाट उच्च तथा न्यून रक्तचापको जोखिमबाट बच्न सकिन्छ । यसमा पाइने फ्याटी एसिडले मुटु स्वस्थ बनाउँछ । एभोकाडोमा करिव सात प्रतिशहत फाइबरको मात्रा हुन्छ । अन्य फलफूलको तुलनामा यसमा बढी नै फाइबर पाइने भएकाले यसको सन्तुलित सेवन गर्दा पाचनसम्बन्धी कब्जियतजस्तो समस्याबाट पनि बच्न सकिन्छ ।

यसमा पाइने एन्टिअक्सिडेन्टले आँखा स्वस्थ राख्न सहयोग गर्छ र हड्डी खिइँने समस्याबाट समेत बच्न सकिन्छ । विभिन्न किसिमका पौष्टिक तत्त्व पाइने भएकाले सन्तुलित तथा नियमितरुपमा एभोकाडो खानाले व्यक्ति शारीरिक तथा मानसिकरुपमा स्वस्थ रहनुका साथै ऊर्जा थप्न पनि सहयोग पुग्छ ।